Saturday, March 19, 2016

कल्पना

आज मलाई नराम्रो लागेको छ,
उहिले दाईले भन्थे, 'होश् गर् है कान्छा,
हतार गरेको छस्, दुःख पाउलास्।'
त्यति बेला जिस्कीए जस्तो लाग्यो,
अलिकती बढि बोले जस्तो लाग्यो,
आज बल्ल आफूलाई परेपछि थाहा पाऊँदैछु,
जाँठो त्यति खेर कुरा सुनेको भए हुन्थेन?

आज मलाई नराम्रो लागेको छ,
अघि भर्खर सम्म पनि ठिकै थियो,
अहिले चार तल्ला बाट खसे जस्तो लागेको छ,
बाटोमा हिँड्दै गर्दा एउटोले गाली गरेर बोलायो,
हुन त मैले गर्ने काम नै तोकेर बोलाएको थियो,
झुठो थिएन तर त्यसले बोलाउँदा काँडा नै बिझे झैँ भयो,
जँड्या मोरोको दुई शब्दले मलाई निशब्द बनायो,

आज मलाई नराम्रो लागेको छ,
बोल्न केहि सकेको हैन,
लुरुलुरु आफ्नो बाटो लागेँ,
एक्कासि आफूलाई ऐनामा देखे जस्तो लाग्यो,
त्यो बनावटी हाँसोको पोतो बगेर गए जस्तो लाग्यो
र अगाडी एउटा बिचरा निमुखो बच्चा देखेँ,
आँखा भरी आँसु छ, ढाडमा गोदाई खाएको डाम
अनि अनुहारले एउटा मात्र कुरा भनेको छ,
जतिसुकै कोशिस गर् म बाट टाढा जान सक्दैनस्।

आज मलाई नराम्रो लागेको छ,
उनीलाई भन्न पनि डर लाग्छ,
मेरो हालत देखेर नराम्रो ठान्छिन् की?
मेरो भत्केको सपना देखेर डराउँछिन् की?
मेरो हराएको हाँसो देखेर घिनाउँछिन् की?
फेरी नानाथरी सोँचेर आफैलाई गाली बक्न थालेँ,
बाले भन्थे, कसैले हेर्दैन फर्केर, आफ्नो दुःख आफैसँग,
अनि फेरि हाँसे जस्तो गरी आफ्नै काममा लागेँ,

मन खुशी त छैन, डाको छोडेर रून मन छ,
तर हाँसो भने वरिपरी सबैको भन्दा ऊज्यालो छ,
अब कोल्ले पो थाहा पाउनु कि
आज मलाई नराम्रो लागेको छ।

No comments:

Post a Comment